हाम्रो बारेमा

परिचय

कश्यप गोत्रीय अधिकारी समाज, नेपाल एक अधिकारी वंशीय गैह्रसरकारी सामाजिक संस्था हो । यो हाल एकाइसौं सताब्दीमा स्थापित आधुनिक समाजमा बढ्दै गएका भौतिक विकास र चिन्तनका कारण समाजमा लोपोन्मुख मानवीय मूल्य मान्यता, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्दै जातीय भाषिक, लैङ्गिक, क्षेत्रीय विभेदसँगै ओझेलमा पर्दै आएका आपसी भाइचारा सम्बन्ध, सदभाव, आत्मीयता र अधिकारी बन्धुहरुमा सह अस्तित्व कायम गराउने पवित्र उद्देश्यले वि.सं. २०६६ सालमा देशको मध्यस्थानमा अवस्थित ऋषिमुनिहरुको तपोभूमि पवित्र नदी कालिगण्डकी र त्रिशूलीको संगम तीर्थस्थल देवघाटधाम चितवनमा यसको स्थापना गरिएको छ ।
यो संस्था एक मुनाफारहित गैह्रसरकारी सामाजिक संस्थाको रुपमा स्थापित, मानव कल्याणको भावनालाई आत्मसाथ गर्दै, समाज कल्याण केन्द्र नेपालमा दर्ता भई कश्यप/काश्यप गोत्रीय अधिकारी वंशको कूलमा जन्मेको यो अधिकारी बन्धुहरुको साझा घर हो । यसरी भौतिक रुपमा विविधतामा छरिएर रहेका वन्धुहरुलाई एकतावद्व गरी आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै कश्यप/काश्यप गोत्रीय अधिकारी वंशको अनुवांशिक, सामाजिक एवं सांस्कृतिक मूल्य र मान्यताको कदर गर्दै हाम्रा अग्रजहरुको व्यावहारिक ज्ञान, त्याग, तपस्या, देन तथा संस्कारहरुको अध्ययन, अनुसन्धान गरी वंशावली तयार गरेर सम्पूर्ण अधिकारीहरुलाई एउटै वंशवृक्षको छहारीमा समावेश गराउनु अधिकारी समाजको मुलभूत लक्ष रहेको छ । संस्थाको स्थापनासँगै मानव सृष्टिका महानायक तथा कश्यप गोत्रका प्रवर्तक कुलपिता “महर्षि कश्यप” को नाममा एक आश्रम निर्माण गरी धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकासका साथै देश विदेशमा संगठन विस्तारमा समेत अगाडि बढिरहेको छ ।

संस्थाका उद्देश्य

कश्यप गोत्रीय अधिकारी समाज, नेपालको स्थापनाका मूल उद्देश्यहरु देहाय बमोजिम रहे्का छन् ।
(क) यो संस्था मुनाफारहित एक जनहितकारी संस्थाको रुपमा देश विदेशभर सदैव सक्रिय रहनेछ ।
(ख) यस संस्थाले कश्यप÷काश्यप गोत्रीय अधिकारी वंशको उत्पत्ति सम्बन्धी अनुसन्धान गरी सो को सम्वर्धन गर्नेछ ।
(ग) संस्थाले देश तथा विदेमा रहेका कश्यप/काश्यप गोत्रीय अधिकारी समुदायको खोजवीन गरी समुदायहरु बीच सम्पर्क, एकता एवं सदभाव अभिवृद्धि गर्नु,
(घ) अधिकारी वन्धुहरुको परम्परागत धार्मिक संस्कार, रीतिरिवाज, संस्कृति साथै कूलदेवताको पूजाविधिहरुको अध्ययन, अनुसन्धान, सम्वर्धन, प्रकाशन एवं संरक्षण गर्नु,
(ङ) देश विदेशमा बसोबास गर्ने कश्यप÷काश्यप गोत्रीय अधिकारीहरुलाई एउटै सूत्रमा आवद्ध गरी वंशजको खोजी गरेर वंशावली तयार गर्नु,
(च) देशमा रहेका गरिव, निमुखा, असहाय, वृद्ध–वृद्धा एवं कश्यप/काश्यप गोत्रीय वन्धुहरुको उपकार गरी स्वास्थ्य, शिक्षा, व्यावसायिक तथा आध्यात्मिक क्षेत्रको विकासमा सहयोग गर्नु,
(छ) देवघाटधाममा आदिपुरुष कश्यप ऋषिको नाममा एक आश्रम निर्माण गरी कूलदेवी विन्द्यवासिनीको मन्दिर, कूलदेव शिवजीको मन्दिर, कश्यम ऋषिको मूर्ति स्थापना र धर्मशाला निर्माण गर्नु,