सङ्क्षिप्त परिचय

कश्यप गोत्रीय अधिकारी समाज, नेपाल
कश्यप आश्रम देवघाटधाम, चितवन
सङ्क्षिप्त परिचय

 

                                                                                                                                                                                                                              –शिवराज अधिकारी

                                                                                                                                                                                                          पूर्व सचिव तथा नि.वर्तमान उपाध्यक्ष

 

मानव उत्पत्ति सम्बन्धमा पौराणिक र वैज्ञानिकका आ–आफ्ना मान्यता छन् । पौराणिक मान्यता अनुसार ब्रम्हाजीले मिलाएको व्यवस्थाअनुसार मानवका साथै सम्पूर्ण प्राणी जगतको सृष्टि भएको हो भन्ने मान्यता छ भने विज्ञानका अनुसार सूर्यबाट चोइटिएर आएको एक टुक्रा पृथ्वी हो । यो टुक्रा करोडौ वर्ष पछि सेलाएर प्राणीको उत्पत्ति हुन सक्ने अवस्था आयो । प्राणीको उत्पत्ति पश्चात विभिन्न चरण पार गरेर मानिसको रुपमा विकास भयो । जे जसरी उत्पत्ति भएता पनि दुवै मतअनुसार मानव जाति पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरु मध्ये सबैभन्दा चेतनशील वौद्धिक भएकोले सर्वश्रेष्ठ प्राणीको रुपमा दरिएको छ । विकासको क्रममा मानिस विभिन्न क्षेत्रमा छरिएर बसेका छन् । छरिएर रहेका मानिसहरुको शारीरिक वनावट, रंग, भाषा, विविध किसिमका छन् ।

धार्मिक मान्यताअनुसार मानव समूहहरु मध्ये एक समूह कश्यप ऋषिका सन्तान भएकाले तिनीहरुको पहिचानको रुपमा कश्यप गोत्र भयो । यिनीहरु मध्ये पनि विभिन्न आधारमा एक समूह अधिकारी थरबाट परिचित भए । वंश विस्तार हुदै जाँदा एक ठाउँमा मात्र रहेर जीवन कष्टकर हुने भएकोले र अन्य विभिन्न कारणबाट नेपालका करिव सबै क्षेत्र भारत, भुटान लगायतका देशहरुमा छरिएर रहेका छन् । आधुनिक कालमात रोजगारीका लागि अध्ययन अध्यापनका लागि र व्यापार व्यवसायको सिलसिलामा संसारका धेरै देशमा पुगेका र स्थायी रुपमा नै त्यतै बसोबास गरेका पनि छन् । संसारका विभिन्न क्षेत्रमा छरिएर बसोबास गर्ने मानिसहरु अनेकन जात–जाति, भाषा, धर्म, संस्कृति, भेष–भूषा, रहन–सहन, रीतिरिवाज स्थापित भई चल्दै आएका छन् । तिनै स्थापित भएका धर्म संस्कृति, रीतिरिवाज, भाषा विभिन्न जातजातिका आ–आफ्ना पहिचान र गौरवका विषय भएका छन् । त्यसरी स्थापित भएका धर्म संस्कृति मध्ये कश्यप गोत्रीय अधिकारीहरुको पनि आफ्नै धर्म, संस्कृति र परम्परा छ । सनातन हिन्दु धर्मालम्वी कश्यप गोत्रीय अधिकारी संसारका जुन कुनै कुनामा बसोबास गरेका छन् ता पनि आपूm बसेका क्षेत्रमा रहेका बन्धुहरु भेला भई प्राचीनकालदेखि बाजे बराजुले मान्दै गर्दै आएको विधि अनुसार कुलायन (कुलदेवता देवी) पूजा गर्ने प्रचलन छदैछ । विभिन्न क्षेत्रमा बसोबास गर्ने बन्धुहरुले गर्ने पूजा विधि सामान्य फरक र तिथि मिति पनि फरक देखिएको छ । फरक देखिएको पूजाविधि र तिथिमिति हरेक क्षेत्रका विज्ञ विद्वानहरुको छलफलबाट निचोड निकाली समन्वय गर्न सकिन्छ । आफ्नो परम्परा प्रचलन अनुसार यस क्षेत्रमा (चितवन, नवलपुर) बसोबास गर्ने बन्धुहरुले पनि आफ्नो पायक पर्ने विभिन्न ठाउँमा भेला जम्मा भई कुलायन पूजा गर्ने गरिएको छ ।  जस्तै ः– २०१८/०१९ साल देखि चितवनको अमृतनगर पायक पर्ने बन्धुहरु भेला भई कुलायन पूजा संचालन हुँदै आएको छ । त्यस्तै श्रीपुर, सीतामाई, विजयनगर, कृष्णपुर, चैनपुर, नवलपुरको कावासोती, गैंडाकोट आदि धेरै स्थानमा साथै अन्य जिल्लाहरुमा पुरानो बसोबास क्षेत्र र नयाँ बसोबास क्षेत्रहरुमा समेत आफ्नो विधि रीतिरिवाज बमोजिम पूजा चल्दै आएको छ । यसै क्रममा २०६५ साल जेष्ठ ७ गते चण्डीपूर्णिमाका दिन कुलायन पूजा गर्ने कार्यक्रम अनुसार अमृतनगरमा भेला भएका बन्धुहरु बिच छलफल भयो । यस स्थानमा धेरै वर्ष देखि पूजा चल्दै र परम्परागत रुपमा पूजा गर्दै आएको भएता पनि समय परिस्थिति बदलिएको अवस्थामा कुलायन पूजाका साथ साथै अन्य धार्मिक, सामाजिक, साँस्कृतिक कार्यक्रम समेत संचालन गर्न सकिने स्थानको आवश्यकता महशुस भयो । आवश्यकताको समाधान एवं परिपूर्ति हुनसक्ने किसिमको उपयुक्त क्षेत्र र क्षेत्रफल जमिनको खोजी गर्नको लागि भेलाले श्री कृष्णप्रसाद अधिकारी (के.पी.) ज्यूको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो । उक्त समितिले उपयुक्त स्थानमा उल्लेखित कार्यक्रमहरुको लागि आवश्यकता परिपूर्ति हुने जमिन खोजी गर्ने सिलसिलामा पटक–पटक वैठक बसी सम्भाव्य क्षेत्र जस्तै देवघाट, गैडाकोट र अमृतनगरको नै पूजा स्थलबाट दायाँ वायाँ जमिन खोज्ने बुझ्ने कार्य गर्यो । उपयुक्त स्थानमा आवश्यकता अनुसारको जमिन प्राप्त गर्न असमर्थ भयो, थकित भई निस्कृय जस्तै भएर  रह्यो । त्यसै गरी श्रीपुरका, कावासोतीका बन्धुहरु र अन्य स्थानमा पूजा गर्ने बन्धुहरु पनि सोही उद्देश्यका लागि विभिन्न क्षेत्रमा डुल्ने बुझ्ने कार्य गर्दागर्दै उपयुक्त जग्गा उपलब्ध हुन नसकेर विश्राम लिनु भएको थियो । सबैतिरका बन्धुहरुले आवश्यक जमिन प्राप्त गर्न नसकेर सिथिल भएको अवस्थामा एक जना उर्जावान वयोवृद्ध आदरणीय व्यक्तित्व भरतपुर महानगरपालिका वडा नं. ११ निवासी श्री लेखनाथ अधिकारीज्यू थाक्नु भएको रहेनछ, जो श्रीपुरमा रहेको कुलपूजा मन्दिरमा सामेल भै पूजा गर्दै आउनु भएको थियो । उहाँले सम्पूर्ण कश्यप गोत्रीय अधिकारीहरु एकै ठाउँमा अटाउन सक्ने धार्मिक, सामाजिक एवं सांस्कृतिक कार्यक्रहरुको लागि उपयुक्त कश्यप गोत्रीय अधिकारीहरुको कुल तिर्थको रुपमा विकसित गर्न सकिने स्थान र जमिन खोजी गरी मन्दिर, धर्मशाला, पुस्तकालय एवं अनुसन्धान केन्द्र समेत निर्माण गर्नुप¥यो भन्दै यस क्षेत्रका बन्धुहरुको घर–घरमा कार्यस्थलमा गई एक–एक जनालाई भेट गरी हामीहरु सकृय भई एक भएर लाग्यौं भने सफल हुन सक्छौं भनी सबैलाई उत्पे्ररित गर्दै हिड्नु भयो । फलस्वरुप २०६६ साल बैशाख १८ गतेका दिन भरतपुर १० स्थित उहाँकै घरको वैठक कोठामा तपसिलमा उल्लेखित १३ जना बन्धुहरु जम्मा हुन सफल भयौं ।

तपसिल

१)         श्री लेखनाथ अधिकारी, भरतपुर ११

२)         श्री देशवन्धु अधिकारी, भरतपुर ४

३)         श्री जगतकेशरी अधिकारी, भरतपुर ११

४)         श्री शिवराज अधिकारी, भरतपुर ११

५)         श्री रुद्रनाथ अधिकारी, भरतपुर १२

६)         श्री सूर्यनाथ अधिकारी, भरतपुर २५

७)         श्री बाबुराम अधिकारी, भरतपुर ६       

८)         श्री बुद्धिसागर अधिकारी, गैडाकोट

९)         श्री धनबल्लभ अधिकारी, भरतपुर १२

१०)       ई.श्री जीवनाथ अधिकारी, भरतपुर ११

११)       श्री रविलाल अधिकारी, भरतपुर ६

१२)       श्री मिनप्रसाद अधिकारी, भरतपुर ५

१३)       श्री वसन्तप्रसाद अधिकारी, भरतपुर १२

 

जम्मा भएका बन्धुहरुको निर्णय अनुसार सुरुवाती आवश्यक खर्चको लागि उपस्थित प्रति व्यक्तिबाट एकसय रुपैयाका दरले जम्मा गर्ने निर्णय भयो । जम्मा भएका बन्धुहरु छलफल गर्दा हाम्रो बृहत उद्देश्य पूर्तिका लागि कृयाशील हुन/गराउन निम्न बमोजिम सात सदस्यीय भेला आयोजक समिति गठन गर्ने निर्णय भयो ।

 

संयोजक श्री लेखनाथ अधिकारी            सदस्य–सचिव श्री जगतकेशरी अधिकारी

सदस्य श्री बुद्धिसागर अधिकारी            सदस्य–श्री बाबुराम अधिकारी

सदस्य श्री धनबल्लभ अधिकारी            सदस्य–श्री बुद्धिनाथ अधिकारी

सदस्य श्री रविलाल अधिकारी

 

भेला आयोजक समितिको मिति २०६६।२।१६ मा बसेको वैठकले कार्य सम्पन्न गर्नका लागि समितिको संख्यामा क्षेत्रगत रुपमा केही थप गर्नुपर्ने भएकोले निम्न बमोजिम थप ६ जना सदस्य मनोनयन गर्ने निर्णय गर्यो ।

 

श्री अर्जुनानन्द अधिकारी            श्री राधाकृष्ण अधिकारी

श्री शिवहरि अधिकारी– रजहर     श्री गुरुदत्त अधिकारी

श्री चन्द्रकान्त अधिकारी             श्री खगेश्वर अधिकारी

 

यस भेला आयोजक समितिले कश्यप/काश्यप बन्धुहरुको घर–घरमा गई यस अभियानको जानकारी गराउदै भेलामा सहभागी हुनको लागि उत्प्रेरणा जगाउने र भेला सम्पन्न गर्न आवश्यक खर्चको लागि स्वैच्छिक रुपमा केही रकम संकलन समेत अभियानको रुपमा गर्यो । समितिको अथक प्रयासबाट मिति २०६६ भाद्र २७ गतेका दिन भरतपुर १० स्थित कालिका मन्दिरको सभाकक्षमा बन्धुहरुको उल्लेख्य उपस्थितिमा भेला आयोजक समितिका संयोजक श्री लेखनाथ अधिकारीज्यूको अध्यक्षता र भरतपुर २ क्षेत्रपुर निवासी श्री भीष्मकान्त अधिकारीज्यूको प्रमुख आतिथ्यमा भव्यताका साथ भेला सम्पन्न भयो । सो भेलाले उपस्थित बन्धुहरु मध्येबाट भरतपुर ७ निवासी श्री विष्णु प्रसाद अधिकारी संयोजक र सदस्यमा गीतानगर निवासी श्री शंकरनाथ अधिकारी एवं भरतपुर १२ निवासी अनिला अधिकारी समेतको निर्वाचन समिति गठन गर्यो । निर्वाचन समितिले निर्विघ्नताका साथ आफ्नो जिम्मेवारी सम्पन्न गरी निर्वाचन विधि अनुसार श्री लेखनाथ अधिकारीज्यू मानार्थ अध्यक्ष र श्री कृष्णप्रसाद अधिकारी (के.पी) ज्यू कार्यकारी अध्यक्ष रहने गरी ४० सदस्यीय तदर्थ समितिको घोषणा गर्यो । सो भेलाले तदर्थ समितिलाई आवश्यकता अनुसार कार्य समितिमा सदस्य थप गर्ने र सल्लाहकार मनोनयनको अधिकार समेत प्रलान गर्यो । तदर्थ समितिले चितवन र नवलपुरका विभिन्न क्षेत्र र छिमेकी जिल्लाहरुमा गई कश्यप/काश्यप गोत्रीय अधिकारी बन्धुहरुको खोजी गरी सम्पर्क बढाउने कार्य अघि बढायो । हाम्रो उद्देश्य अनुरुप पूजा–आजा गर्न, सामाजिक, साँस्कृतिक कार्यक्रमहरु संचालन गर्न, मन्दिर, धर्मशाला, अनुसन्धानशाला, पाटीपौवा निर्माण गर्न, वंशावली तयार गर्नका लागि संकलित सामग्रीहरुको संरक्षण समेत हुने गरी कार्यालय संचालन गर्न समेत विविध उपयोगमा आउने बहुउद्देश्यीय भवन निर्माण गर्न समेत पुग्ने गरी आवश्यक जमिन खोजी गरी व्यवस्था गर्नका लागि मिति २०६६।६।१ मा बसेको समितिको वैठकबाट श्री कृष्णप्रसाद (के.पी) अधिकारीको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गर्यो । सो उपसमिति जमिनको खोजी गर्ने शिलशिलामा चितवन, नवलपुर, तनहुँका सम्भाव्य क्षेत्रको भ्रमण गर्दागर्दै देवघाटधामको चितवन तर्फ विश्वशान्ति महायज्ञ नामक एक धार्मिक संस्थाले भोगचलन गर्दै आएको स्थानमा उपसमितिको ध्यानाकर्षण हुन पुग्यो । सो संस्थाका संचालकहरुसँग भेट गरी कुराकानी हुँदा जमिन प्राप्त हुन सक्ने सम्भावना देखिएकोले सो सम्बन्धमा समिति समक्ष यथार्थ जानकारी गराउने कार्य भयो । समितिमा छलफल हुँदा पवित्र नदीहरु कालिगण्डकी र त्रिशुलीको संगमस्थल, आदि प्रयागको नामले परिचित देवी देवताहरुको क्रिडास्थल, ऋषिमहर्षिहरुको तपोभूमि, देशको मध्यभाग, यातायातका दृष्टिले सुगम यस्तो उपयुक्त स्थानमा जमिन प्राप्त गर्नका लागि उपसमितिलाई संवाद अगाडि बढाउन निर्देशन दियो । तत्पश्चात विश्वशान्ति महायज्ञका आधिकारीक व्यत्तित्वहरुसँग कुराकानी गर्दा पुरानो जीर्ण मन्दिर यज्ञशाला पुनर्निर्माण गर्न रकमको आवश्यकता रहेकाले सो संस्थाले ५ कठ्ठा जमिन कश्यप गोत्रीय अधिकारी समाज नेपाललाई सहयोग प्रदान गर्ने र समाजले मन्दिर यज्ञशाला निर्माणका लागि तिन किस्तामा रु. १५,००,०००।– (पन्ध्र लाख) सहयोग प्रदान गर्ने गरी भएको सहमतिलाई समाजको कार्यसमितिले समेत अनुमोदन गर्यो । मिति २०६६।९।१८ का दिन सहयोग सम्बन्धी सम्झौतापत्र तयार पारी दुबै पक्षका आधिकारिक व्यक्तित्वहरुबाट सही छाप लगाई एक/एक प्रति एक–आपसमा हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो ।

 

जमिन उपलब्ध हुने भैसकेपछि सहयोग प्राप्त जमिनको लागि रकम के कसरी जम्मा गर्ने भन्ने सम्बन्धमा मिति २०६७।७।१ गतेका दिन समितिको वैठक बस्यो । छलफलको क्रममा वैठकमा उपस्थित समितिका पदाधिकारी एवं सदस्यहरुबाट स्वतः स्फूर्त रुपमा यथासक्य रकम संकलन भयो । संकलित रकमबाट प्रथम किस्ता बापतको रु. ५ लाख रुपैया बुझाउने कार्य भयो । तदर्थ समितिको मूल कर्तव्य समाजको विधान तयार गरी सम्बन्धित निकायमा पेश गर्ने र कानून बमोजिम संस्थाको रुपमा दर्ता गराउनुपर्ने हुन्छ । मिति २०६६।७।१८ मा बसेको समितिको वैठकमा विधानका सम्बन्धमा छलफल हुँदा यस संस्थाको नाम “कश्यप गोत्रीय अधिकारी समाज, नेपाल” राख्ने निर्णय भयो । विधान निर्माणको लागि विधानको मस्यौदा तयार पारी समितिमा पेश गर्ने गरी मिति २०६६।७।२१ को समितिको वैठकबाट अधिवक्ता एवं यसै समितिका सदस्य श्री खगेश्वर अधिकारीज्यूको संयोजकत्वमा विधान मस्यौदा उपसमिति गठन गर्यो । उपसमितिले विभिन्न विज्ञ व्यक्तिहरुसँग राय परामर्श गरी प्रस्तावना सहित परिच्छेद ७ को दफा २७ समेतको मुनाफा रहित जनहितकारी सामाजिक संस्था, कश्यप गोत्रीय अधिकारीहरुको धर्म सँस्कृतिको प्रबर्धन गर्ने, छरिएर रहेका बन्धुहरुलाई सम्पर्क परिचय गराउने, असहाय वृद्ध–वृद्धाहरुलाई आवश्यक सहयोग र सम्मान गर्ने समेत उद्देश्य रहेको विधान तयार पारी समितिमा पेश गर्यो । समितिमा पेश हुन आएपछि प्रत्येक दफा उपदफामा ब्यापक छलफल पश्चात विधान स्विकृत गर्ने निर्णय भयो । स्वीकृत विधान समेत कानून बमोजिम “कश्यप गोत्रीय अधिकारी समाज, नेपाल” नामक संस्था दर्ताको लागि आवश्यक प्रकृया पुर्याई जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन पेश गरियो । समाज दर्ताका लागि निवेदनसाथ पेश भएको विधान अध्ययन गरी बुझ्नुपर्ने आवश्यक कुरा बुझी जिल्ला प्रशासन कार्यालय, चितवनबाट संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम मिति २०६६ माघ १२ मा कश्यप गोत्रीय अधिकारी समाज, नेपाल नामको संस्था दर्ता गरी संस्था दर्ताको प्रमाण–पत्र उपलब्ध भयो ।

 

संस्था दर्ता भएपछि समितिको जिम्मेवारी अझ बढ्ने नै भयो । विधानतः समाजको सदस्यता वितरण गरी संगठन विस्तार गर्ने कार्यका साथै अधिवेशन गरी निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने काम, उपलब्ध जमिनको सहयोग रकम भुक्तानी गर्ने, मन्दिर, धर्मशाला, यज्ञशाला समेतका आवश्यक संरचना निर्माणका साथै सुरक्षाका लागि अति आवश्यक कम्पाउण्डवाल र गेटको निर्माण कार्य समेतका लागि आवश्यक रकम संकलन गर्नुपर्ने भयो । निर्धारित समयमा अधिवेशन सम्पन्न कार्य मन्दिर लगायत संरचनाहरुको निर्माण गर्न, जमिनको सहयोग रकम भुक्तानी गर्नको लागि रकमको खाचो भएकोले सदस्यता वितरण एवं सहयोग संकलन गर्न प्रथम चरणमा चितवन र नवलपरासीका विभिन्न क्षेत्रमा खटाउने गरी समितिले चार–पाँच टोली गठन गर्ने निर्णय गर्यो। गठित टोलीहरुले जिम्मेवारी प्राप्त क्षेत्रहरुमा बन्धुहरुको घरघरमा जाने, पायक पर्ने ठाउँमा भेला जम्मा हुन अनुरोध गर्ने र आजीवन सदस्यता ग्रहण गर्न अनुरोध गर्नुको साथै उल्लेखित व्यहोरा जानकारी गराउँदै विशेष सहयोगको लागि अनुरोध समेत गरियो । फलस्वरुप बन्धुहरुबाट आजीवन सदस्यता ग्रहणका साथै उदारमना बन्धुहरुले हाम्रो मनसाय बुझी स्वच्छिक रुपमा विशेष सहयोग समेत प्रदान गर्नुभयो ।

संकलित रकमबाट जमिनको सहयोग रकम भुक्तानी गर्नुका साथै निर्माण कार्य शुरु गर्ने निर्णय भयो । के कसरी संरचना निर्माण गर्दा उपलब्ध जमिनको आधिकाधिक उपयोग र सुन्दरता कायम गर्न सकिन्छ भनि गुरुयोजना तयार पारी पेश गर्न समितिका उपाध्यक्ष ई.जीवनाथ अधिकारीलाई जिम्मा दिइयो । जिम्मेवारी प्राप्त ई.जीवनाथज्यूले विज्ञ व्यक्तित्वहरुसँग समेत राय परामर्श गरी मेहनतका साथ उपयुक्त स्थानमा उपयुक्त आकार प्रकारका संरचनाहरु, शिवालय, विन्ध्यवासिनी मन्दिर, महर्षि कश्यपको प्रतिमा (मूर्ति) सभाहल, बहुउद्देश्यीय भवन, पुजारी आवास, पालेघर, पार्किङ्ग स्थल, शौचालय लगायतका संरचना एवं सुन्दर पूmलवारीको परिकल्पना समेतको गुरुयोजना तयार पारी पेश गर्नुभयो । उपलब्ध गुरुयोजना समितिमा पेश हुँदा सर्वसम्मत स्वीकृति गरी उपयोगिताको आधारमा क्रमशः निर्माण कार्य गर्ने भन्ने समेत निर्णय भयो ।

समाजको प्रथम साधारणसभा एवं प्रथम अधिवेशन मिति २०६७ साल माघ १ गतेका दिन महासचिव श्री बुद्धिनाथ अधिकारीबाट प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष श्री धनवल्लभ अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरी निर्वाचन समितिमा रहनु भएका संयोजक श्री विष्णु विलास अधिकारी र श्री खगेश्वर अधिकारीबाट निर्वाचन कार्य सम्पन्न गरी संयोजकबाट श्री कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा विधान बमोजिम पदाधिकारी एवं सदस्यहरुको निर्विरोध निर्वाचन भएको घोषणा पश्चात सम्पन्न भयो ।

शुभ दिनमा शुभ मुहर्तमा शिलान्यास गरी निर्माण कार्य प्रारम्भ गर्ने हाम्रो परम्परा अनुसार मिति २०६८ बैशाख २३ गते शुक्रवार अक्षय तृतीयाको बिहान ९ बजेको शुभ मुहर्तमा वरिष्ठ समाजसेवी शिक्षापे्रमी मंगलपुर ८ निवासी श्री शेषकान्त अधिकारीज्यूबाट शिलान्यास कार्य सम्पन्न भयो । शिलान्यास पश्चात कम्पाउण्डवाल निर्माण, कुल देवता शिवजीको मन्दिर (शिवालय) कुलदेवी विन्ध्यवासिनीको मन्दिर, कुलपिता महर्षि कश्यपको प्रतिमा निर्माण कार्य सम्पन्न भयो । निर्मित शिवालय भित्र बिचमा आकर्षक शिवलिङ्ग एवं मन्दिरको चार कुनामा शिव पाञ्चायन विधि अनुरुप गणेश, विष्णु, सूर्य र देवीका सुन्दर मूर्तिहरु साथै विन्ध्यवासिनी मन्दिरको प्रवेशद्वार सामुन्ने पूर्व तर्फ भित्तामा अडेस लगाएर विन्ध्यवासिनी देवीको सिंहारुढ सुन्दरमूर्ति र ढोकाबाट भित्र प्रवेश गर्दा दायाँ तर्फ कुमारजी र वायाँ तर्फ गणेशजीका अति सुन्दर मूर्तिहरु स्थापित गरिए ।

 

मन्दिरहरु निर्माण र देवीदेवताका मूर्तिहरु यथास्थानमा स्थापना पश्चात धार्मिक परम्परा अनुरुप देवी देवताहरुलाई आव्हान गरि प्रतिष्ठापित गर्नुपर्ने भएकोले मिति २०७२ माघ २८, २९ र फागुण १ गते त्रिदिवसीय रुपमा वैदिकविधि अनुसार पूजा–अर्चना, पाठ, विभिन्न अनुष्ठान गरी भव्यताका साथ प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भयो । त्रिद्विवसीय कार्यक्रमको अन्तिम दिन २०७२ फागुन १ गते श्रीपञ्चमीका दिन प्रातः ८ः३० बजेको शुभ मुहर्तमा हरिहर सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती गिरीजी महाराजका करकमलबाट शिवलिङ्गमा वैदिक मन्त्रोच्चरणका साथ पूजा अर्चना, शिवलिङ्गमा गोदुग्धधार अर्पण गरी कश्यपेश्वर महादेव मन्दिर नामाकरणका साथ शिवालयको समुदघाटन सम्पन्न भयो । वरिष्ठ समाजसेवी, शिक्षापे्रमी दानवीर, कश्यप आश्रम निर्माणका उत्प्रेरक व्यक्तित्व यस समाजका संरक्षक भरतपुर महानगरपालिका वडा नं. ११ निवासी श्री लेखनाथ अधिकारीज्यू र वरिष्ठ समाजसेवी, शिक्षापे्रमी, दानवीर, समाजका सल्लाहकार मंगलपुर ८ निवासी श्री शेषकान्त अधिकारीज्यू समेत द्वयका करकमलबाट बिहान  ९ः३० बजेको शुभ मुहर्तमा नौ कन्याका हातमा रहेको दिप प्रज्वलन गरी विन्ध्यवासिनी मन्दिरको समुद्घाटन सम्पन्न भयो । सोही दिनको १२ः३० बजेको शुभ मुहर्तमा महेश सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश  १००८ स्वामी डा.रामानन्द गिरीजी महाराजका करकमलबाट शिवालय र विन्ध्यवासिनी मन्दिरको बिचमा रहेको कलात्मक स्तम्भमा निर्मित पद्मासनमा आसीन महर्षि कश्यपको सुन्दर प्रतिमा अनावरण गरी कश्यप आश्रमको समुद्घाटन सम्पन्न भयो ।

प्राण प्रतिष्ठाको तृदिवसीय कार्यक्रमको अन्तिम दिन २०७२ फागुन १ गते साधारणसभामा प्रस्तुत विभिन्न प्रतिवेदन पारित गर्दै निर्वाचनको जिम्मेवारी वहन गर्नुभएका संयोजक श्री विष्णुविलास अधिकारी र श्री खगेश्वर अधिकारीले निर्वाचन सम्बन्धि कार्यसम्पन्न गरी संयोजकबाट श्री देवीरमण अधिकारीको अध्यक्षतामा विधान अनुरुप पदाधिकारी एवं सदस्यहरुको सर्वसम्मत् निर्वाचन भएको नामावली घोषणा पश्चात समाजको दोस्रो महाधिवेशन सम्पन्न भयो ।

प्राण प्रतिष्ठा एवं आश्रमको उद्घाटन कार्यक्रम सम्पन्न भए पश्चात दैनिक रुपमा देवी देवताको पूजा आरती गर्नुपर्ने भएकोले आश्रममा आवासीय पूजारीको व्यवस्था गरी हाम्रो कुलीय परम्परा अनुसार प्रात वैदिक विधिपूर्वक शिवालयमा शिवपाञ्चायन पूजा साथ रुद्राभिषेक एवं विन्ध्यवासिनी मन्दिरमा देवीको पूजा एवं साँझमा आरती नियमित रुपमा संचालन भई आएको छ । साथै शिवालयमा अखण्ड दीप प्रज्वलन भईरहेको छ । त्यसैगरी बैशाख १ गते, श्रावण महिनाको प्रत्येक सोमवार, शिवरात्रीका दिन विशेष रुद्राभिषेक (रुद्री) र श्रावण महिनाको तेस्रो सोमवार लघुरुद्री गर्ने परम्परा समेत कायमै छ । समाजले धार्मिक कार्यक्रमका साथै सामाजिक कार्य समेत आफ्नो दायित्व भित्र पर्ने जिम्मेवारी वोधका साथ प्रत्येक वर्ष साधारणसभाका दिन कश्यप अधिकारी सन्ततिलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय पत्रिका साथै एम.एम.रेडियोमा समेत सूचना प्रकाशित/प्रसारित गरी प्राप्त हुन आएका निवेदक मध्य छानविन गरी SEE (एस.एल.सी.) मा सर्वोच्च अंक प्राप्त गर्ने एक छात्रा र एक छात्रलाई ‘कश्यप प्रतिभा राष्ट्रिय पुरस्कार’ अन्तर्गत जनही रु. १०,०००।– (दश हजार) राशीको नगद पुरस्कार र प्रसंशा–पत्र प्रदान गर्ने कार्य हुँदै आएको छ । चौरासी वसन्त पार गर्नुभएका कश्यप अधिकारी व्यक्तित्वहरुलाई जेष्ठ अभिभावक सम्मान कार्यक्रम अन्तर्गत दोसल्ला एवं सम्मानपत्रद्वारा सम्मानित गर्ने परम्परा कायम गरिएको छ । साथै १००८ चन्द्र दर्शन गर्नुभएका जेष्ठ व्यक्तित्वहरुको स्वनिवासमा नै चौरासी पूजा भएको जानकारी प्राप्त भएसम्म कार्यक्रम स्थलमानै गई सम्मानित गर्ने समेत गरिदै आएको छ । यसका अतिरिक्त हाम्रो परम्परादेखि चलिआएको माघेसक्रान्तिका दिन विभिन्न परिकार बनाएर खाने खुवाउने चलनलाई निरन्तरता दिने उद्देश्यले माघे सक्रान्तिमा देवघाट आउने भक्तजनहरुलाई खिचडी, तरुल, सखरखण्ड, तिलको लड्डु, घ्यू, चाकु जस्ता परिकार बनाएर खाने खुवाउने परम्परालाई निरन्तरता दिइएको छ । समाजले आगामी दिनहरुमा यसका अतिरिक्त धार्मिक, सामाजिक, साँस्कृतिक कार्यक्रम समेत संचालन गर्ने लक्ष्य लिएको छ ।

उल्लेखित धार्मिक, सामाजिक कार्यक्रम संचालनार्थ स्थायी कोषको आवश्यकता देखिएकोले कश्यप प्रतिभा राष्ट्रिय पुरस्कारका लागि रु. ६,००,०००।– (छ लाख) को अक्षयकोष स्थापना भएको छ भने समाजको निर्णय अनुसार तीन वा पाँच वर्षमा गर्ने भनिएको पितृ उद्धार यज्ञको लागि आवश्यक स्थायी कोषको रुपमा धार्मिक अनुष्ठान अक्षयकोषको स्थापना भएको र सो कोषमा रकम थप जम्मा हुने क्रम जारी छ । दैनिक पूजा आरतीका लागि आवश्यक कोषको व्यवस्था गर्न अभियानका रुपमा “एक रुपैया दान पितृको सम्मान” कार्यक्रम अन्तर्गत प्रत्येक सदस्य वा श्रद्धालु व्यक्तित्वहरुबाट दैनिक एक रुपैयाको हिसाबले हुने बार्षिक रु. ३६५।– जम्मा गर्ने परिपाटी बसालिएको छ । साथै दैनिक पूजा अक्षयकोष नामको एक स्थायी कोष खडा गरी सो अक्षयकोषमा समेत थप रकम जम्मा हुने क्रम जारी छ । आश्रमको विकासका लागि उदारमना बन्धुहरुबाट विभिन्न संरचनाहरु निर्माण, अक्षयकोष स्थापनाका साथै विभिन्न वस्तुहरु प्रदान गर्नु भएको छ । सवै धन्यवादका पात्र हुनुहुन्छ । जसको अभिलेख कश्यप सन्देशमा प्रकाशन गरिने छ । साथै यथासमयमा स्तम्भ निर्माण गरी शिलालेख समेत सार्वजनिक गरिने छ । यस्तै विविध कार्यक्रम संचालन गर्दै कश्यप गोत्रीय अधिकारी समाज, नेपाल कश्यप आश्रम देवघाटधाम चितवन क्रियाशील छ ।

अन्त्यमा यसरी स्थापना गरी संचालनमा रहेको कश्यप आश्रम, कश्यप गोत्रीय अधिकारी समाज, नेपालको पहलमा निर्माण गरिएको भएता पनि यो आश्रम सम्पूर्ण सनातन हिन्दु धर्मालम्वीहरुको साझा धार्मिक थलो हो । तसर्थ आश्रमलाई यथासक्य सहयोग गरी उन्नति प्रगतिमा सहभागी भै दिनु हुन सम्पूर्ण सनातन हिन्दु धर्मालम्बी व्यक्तित्वहरुलाई हार्दिक आव्हान गर्दछु ।

ःःजय कश्यपःः