कश्यप सन्देश​

प्रकाशकीय/सम्पादकीय

प्रस्तुत ‘कश्यप सन्देश’ कश्यप गोत्रीय अधिकारी समाज, नेपालको मुखपत्र हो । हतारमा निर्णय गरी प्रकाशन गर्न लागिएको यस प्रथम अङ्कलाई हामीले विशेषत आधारभूत जानकारी एवं ऐतिहासिक दस्तावेजको रुपमा प्रस्तुत गरेका छौं । एकातिर कुलपिता महर्षिकश्यप, कश्यप/काश्यप गोत्र अधिकारी थर र कुलपूजाका सम्बन्धमा लेखिएका अनुसन्धानमूलक लेखहरु विभिन्न पुस्तकहरुबाट साभार गरी आफ्नो वंशसँग सम्बन्धित जानकारी पस्तुत गरेका र्छां भने अर्कातिर यस समाजको स्थापनाका प्रारम्भिक दिनहरुमा गरिएका त्रिफ्याकलापहरु गतविधिहरु योगदानकर्ताहरु सबैको इतिहास जीवन्त रहिरहोस् भन्ने हेतुले विभिन्न महत्वपूर्ण दस्तावेजहरु संलग्न गरेका छौं । हामी चाहन्छौं यस संस्थाको इतिहासमा केही कोही नछुटोस् ।
यस संस्थाको नामकरण प्रारम्भमा कश्यप गोत्रीय अधिकारी वर्ग त्यसपछि कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान र अन्तमा विविध विचार विमर्श पश्चात् कश्यप गोत्रीय अधिकारी समाज हुन गएको हो । कश्यप/काश्यप गोत्रीय मात्र नभई सम्पूर्ण अधिकारीहरुलाई समेट्नुपर्ने सल्लाह पनि पाइएकै हो तर पनि धेरै व्यापक हुने र समेट्न नसकिने भयले सीमा तोक्न बाध्य भएका हौं । त्यसैले यस अङ्कमा समावेश गरिएका विभिन्न पम्प्लेटहरुमा नामको विविधता हुन गएको हो ।
हाम्रो यस समाजको स्थापनाको मूल उद्देश्य बृहद् पारिवारिक एकता, वंश खोज अनुसन्धान तथा पूर्वजहरुको सच्चाचरित्रको ज्ञानको माध्यमबाट चरित्र निर्माणमा प्रेरणा दिनु हो । मनुस्मृतिमा भनिएको छ–“स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः” पृथ्वीमा मानिसहरु आ–आफ्ना पूर्वजबाट आफ्नो कुलको चरित्रबाट शिक्षा प्राप्त गरुन् ।