कश्यप गोत्रीय अधिकारी समाज, नेपालको आव्हान


सगोत्रीय वन्धुहरु,
एक्काइसौ शताब्दीको भौतिकवादी चिन्तनले मानवीय मूल्य, मान्यता, संवेदना, धर्म, संस्कार, संस्कृति, राष्ट्रियता, आत्मीयता तथा जातीय गौरव जस्ता भावनात्मक पक्षहरु ओझेलमा पर्दै गएको नमिठो यथार्थ आजको समाजले बाध्य भएर भोगिरहेको छ र त्यसबाट उन्मुक्तिका लागि जमर्को गर्न लागेको अनुभव गरिदै छ । यसै सन्दर्भबाट अभिपे्ररित भई आफ्नो धर्म र समाजको सापेक्ष्इातामा बृहत पारिवारिक एकता तगा समूहिक प्रयासे आफ्नो गोत्रीय अस्तित्वको रक्षा, वंशीय इतिहासको खोजी र आपसी सम्बन्धको प्रगाढताका लागि एकताबद्ध हुने प्रयास गरेका छौं । देवघाट जस्तो सुगम, भौगोलिक दृष्टिले राष्ट्रको केन्द्र, धार्मिक दृष्टिले पुराणहरुमा आदिप्रयागको रुपमा वर्णित पवित्र धार्मिक स्थललाई कूलतीर्थको रुपमा स्थापना गर्ने सोचका साथ कुलपिता, गोत्रप्रवर्तक महर्षि कश्यप ऋषिका नाउँमा “कश्यप आश्रम” निर्माण गर्ने योजना बनाएका छौं । आवश्यक स्थानका लागि देवघाट (चितवनतर्फ) मा पाँच कठ्ठा (३.३ रोपनी) जग्गाको व्यवस्था पनि भइसकेको छ । सहयोग चन्दा तथा आजीवन सदस्यता शुल्क गरी संकलन भएको रु. १५,००,०००।– (पन्ध्र लाख) मा खरिद गरिएको उक्त जग्गामा निर्माणको गुरुयोजना पनि तयार गरिसकिएको छ । अब गुरुयोजना अनुसारको निर्माण कार्यको थालनी गर्ने समय आएको छ । यसका लागि सक्रियता, सहयोग र अर्थ संकलन हामी सबैको समान कर्तव्य, दायित्व तथा गौरवको विषय भएकोले सम्पर्कमा आउन र सक्रिय सहभागी हुन हार्दिक आव्हान गर्दछौं ।
आत्मीय बन्धुहरु,
समाजको गतिशिलताका लागि निर्माण गरिएको कार्य समिकिो नीति तथा यसका विधान अनुसार गर्नुपर्ने प्रथम महाधिवेशन २०६८ मकर संक्रान्तिका दिन (माघ १ गते) आश्रम निर्माण स्थल देवघाटमा यसबाट निर्मित समितिले निर्माणको कार्य प्रारम्भ गर्ने र पितृ उद्धार कार्यक्रम अन्तर्गत पितृ पुराण लगाउने प्रस्ताव राख्ने निर्णय गरेका छौं । हामी सबैले आफ्नो कर्तव्य ठानेर सहयोग ग¥यौं भने अवश्य हाम्रो प्रस्तावले मूर्तरुप लिनेछ भन्ने विश्वास लिएका छौं ।
बन्धुहरु,
कूलको सम्मानार्थ प्रारम्भ गरिएको यस कार्यको थालनीको विगत डेढ वर्षको बन्धु सम्पर्कको अवधिमा सामान्य समस्या बनेर देखा परेका दुईवटा प्रश्न छन् ः
१) हामीले गोत्रको रुपमा कतै कश्यप र कतै काश्यप भन्ने गरिएको र यी दुवै अलग–अलग हुन् कि भन्ने शंका,
२) ठाउँ–ठाउँमा कूल पूज ागर्ने गरिएको छ, कतै मन्दिरहरु समेत बनाएर लगानी समेत गरिसकिएको छ, तिनीहरुको अवस्था के हुने ?
यी समस्याहरुको समाधानार्थ हामीले कश्यप र काश्यप मध्ये जे भन्ने गरिएको भएपछि हाम्रा कूल देवता शिवजी, आराध्यदेवी माता विन्द्यवासीनी, आदिकूल पिता महर्षि कश्यप भएको र प्रवर, वेदका शाखा आदि पनि समान भएको र पूजा पद्धतिमा पनि समानता पाइएकोले हाम्रो विधानमा सदस्यका लागि कश्यप÷काश्यप गोत्रीय अधिकारी हुनुपर्ने भनेर उल्लेख गरेका छौं र आत्मीयतापूर्वक सहकार्य गर्न आव्हान गरेका छौं भने कूल पूजाको सन्दर्भमा सम्पूर्ण स्थानहरुबाट कुलशिला संकलन गरी आश्रमको एक ठाउँमा राख्ने र दैनिक पूजा संचालन गर्ने अनि तीन वा पाँच–पाँच वर्षमा विशेष कूल पूजाको आयोजना गर्ने सोच बनेको छ तापनि यस सम्बन्धमा छलफल गरी सर्वस्वीकार्य उपाय निकाल्न सकिन्छ भन्ने हाम्रो विचार छ ।

आफ्नो कूलप्रति स्वाभिमानी वन्धुहरु,
जो जसको सोच, सक्रियता, सहभागिता, उदारता र प्रतिवद्धताबाट यस कार्यको थालनी भएको भएपनि र आगामी कार्यक्रमहरुमा समर्पित भएर लाग्नेहरुले सम्पन्न गरेपनि समान कर्तवय पूरा गरेको मानिन्छ । अतः आफ्ना सुझाव, सल्लाह, सहयोग, सक्रियताका साथ सहभागी भइ यो महान धार्मिक, साँस्कृतिक तथा सामाजिक कार्य समेतको गुरुयोजनालाई सफल तुल्याउन सक्रिय ऐक्यवद्धताका लागि आव्हान गर्दछौं ।

आश्रममा प्रतावित कार्यहरु यस प्रकार छन् ः
१) कूलपिता कश्यप ऋषिको मूर्ति स्थापना,
२) कूलदेवी विन्द्यवासिनीको मन्दिर निर्माण,
३) कूल देवता शिवको मन्दिर तथा यज्ञशाला निर्माण,
४) सभाकक्षको निर्माण,
५) वृद्धाश्रमको निर्माण,
६) अतिथि गृह निर्माण,
७) वंशावली अध्ययन अनुसन्धान तथा लेखन सहयोगका लागि अनुसन्धान केन्द्र तथा पुस्तकालयको स्थापना

कश्यप गोत्रीय अधिकारी समाज, नेपाल
भरतपुर १ देवघाट, चितवन