कश्यप आश्रम देवघाटधाम, चितवन एक चिनारी

श्रद्वेय महानुभावहरु,
आराध्यदेव शिव–पार्वतीको कीडाभूमि कैलाश पर्वत एवं मानसरोवरको काख, ऋषिमहर्षीहरुको पुण्य तपोभूमि, प्रकृतिको धरातलिय वरदान हाम्रो देश नेपालको मध्यभागमा अवस्थित देवघाटधाम कृष्णागण्डकी एवं सप्तगण्डकी जस्ता पवित्रम् नदीहरुको संगममा रहेको पावन तीर्थस्थल हो । यो हरिहर क्षेत्र एवं आदि प्रयागको रुपमा पुराणहरुमा वर्णित छ । यस महान पुण्यभूमिमा विशिष्ट सन्त महन्तहरुद्धारा स्थापित आश्रम, गुरुकुल एवं महर्षि कश्यपको नाउमा एउटा सार्वजनिक आश्रमको स्थापना गरिएको छ जो कश्यप आश्रम नामले चिनिन्छ । यसमा शिव पाञ्चायनको विशाल मन्दिर, महर्षि कश्यपको सुन्दर मूर्ति एवं यस क्षेत्रकै एक मात्र शक्तिपीठको रुपमा विन्ध्यवासिनी माताको मन्दिर निर्माण गरी सुन्दर मूर्तिहरु स्थापना गरिएका छन् र नित्य पूजा आरतिका साथै अखण्ड दीप प्रज्वलन भइरहेको छ । यो आश्रम देवघाटमा चितवन तर्फको सुन्दरतम् दर्शनीय स्थ लबनेको छ, त्यसैले यो आश्रम यहाँहरुलाई सदार्वदा हार्दिक स्वागत गर्दछ ।
आश्रम तथा मठ मन्दिरहरु सबैको सर–सहयोग तथा दान दातव्यबाट निर्माण गरिएका हुन्छन् तापनि स्थापना र निर्माणको अगुवाई कसै न कसैले गर्नुपर्दो रहेछ । कश्यप आश्रम निर्माणको अगुवाई अर्थात् प्रवर्तन/प्रवद्र्धन कश्यप गोत्रीय अधिकारी समाज नेपाल, देवघाटधाम चितवनले गरेको छ । यसको सामान्य परिचय यस प्रकार रहेको छ ।
कश्यप गोत्रीय अधिकारी समाज, नेपाल कश्यम/काश्यप गोत्र भएका अधिकारी थरका बन्धुहरुको साझा घर हो । यसको स्थापना २०६८ बैशाख १८ गते भएको हो । वन्धु एकताको सशक्त माध्यम बनाउन यो समाज स्थापना गरिएको हो । महर्षि कश्यपको नाउँमा केन्द्रीयस्तरको आश्रम निर्माण गर्ने गरी गुरु योजना तयारीका साथ यो संस्था भौतिक निर्माण कार्यमा निरन्तर लागि परेको छ एवं धार्मिक सामाजिक कार्य समेमा गतिशिल छ ।
संस्थाको स्थापनाका उद्देश्यहरु :
क) धार्मिक, साँस्कृतिक तथा सामाजिक आदि विषयवस्तुको अध्ययन, अनुसन्धान प्रकाशनका लागि अनुसन्धान केन्द्र, सभाहल, धर्मशाला, वृद्धाश्रम, अनाथालय आदि क्रमशः निर्माण गर्ने ।
ख) जेष्ठ अभिभावक एवं विशिष्ठ प्रतिभाको सम्मान गर्ने ।
ग) विशिष्ट कृति संकलन र प्रकाशनका लागि पुस्तकालयको स्थापना गर्ने ।
घ) देवघाटधाममा आउने विशिष्ठ पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्न अतिथि गृह निर्माण गर्ने ।
ङ) नियमित पूजापाठ, अनुष्ठान संचालनको व्यवस्था गर्ने ।
च) प्रत्येक तीन–तीन वर्षमा विशेष पूजा, पितृ अनुष्ठान (महायज्ञ) संचालन गर्ने ।